पोखरा l होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटिका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए । महोत्सवमा अमेरिका, वेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिलैण्ड, नेदरलैण्ड लगायतका देशका पर्यटकको सहभागिता रहेको थियो ।
लेकसाइड स्थित होटल पौवामा आयोजना भएको महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए । सप्तरंगी टिका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । उनले नेपाल सांंस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन् ।

