ह्याप्पी पोखरा डट कम
पोखरा, १४ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा संचार माध्यमले खेल्न सक्ने भूमिकाका विषयमा विहीबार स्थानीय आँधिमुलमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीले यो कार्यक्रम आयोजना गरेको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र गाउँपालिकाले कार्यक्रमलाई सघाएको थियो ।
गण्डकी प्रदेश सरकारले पछिल्ला बर्षहरुमा होमस्टेहरुको विकासमा सक्रियता प्रदर्शन गर्दै आएको र सो प्रदेशले छनोट गरेका एक सय १० पर्यटकीय क्षेत्र मध्ये रहेको आँधिमुलको प्रबद्र्धन र विकासमा सघाउने उद्धेश्य कार्यक्रमले लिएको फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिए ।
संचारकर्मीलाई स्थलगत भ्रमण गराई आँधिमुल लगायत तनहुँका पर्यटकीय क्षेत्रलाई प्रचारप्रशारमा ल्याउने आसयका साथ कार्यक्रमलाई सहयोग गरिएको गण्डकी प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्पष्ट पारे । पर्यटन प्रवद्र्धनका लागि गाँउपालिकाले ५० लाख रुपैयाँ भन्दा बढी रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । छिम्केश्वरी, अँंधिमुल, अकला, ऐना पहरा लगायतका प्रमुख पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र बिकासका लागि बजेट विनियोजन गरिएको उनले सुनाए ।
कार्यक्रममा पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय समाचार समतिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले स्थगत भ्रमण गरी पत्रकारले समाचार लेख्नुपर्ने र यसो गर्दा समाचारको प्रभावकारिता बढ्ने विचार राखे । यसैगरी प्रविधिलाई पच्छ्याउँदै अगाडि बढ्न पनि उनले पत्रकारलाई सुझाव दिए ।
सो अवसरमा, गाँउपालिका उपाध्यक्ष पुष्पादेवि श्रेष्ठ, राष्ट्रिय समाचार समतिका प्रमुख समाचारदाता राजु शाक्य, फोनिज गण्डकी प्रदेश इन्चार्ज हुमबहादुर गुरुङ , महासचिव रुद्र श्रीसमगर, आँबुखैरेनी–१का वडा अध्यक्ष किसन थापा मगर लगायतले सञ्चार माध्यमको भूमिका र महत्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।