पोखरा, १ वैशाख । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ʿकौमोदकीʾ लोकार्पण गरिएको छ ।
जर्नलको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले एक कार्यक्रमकाबीच मङ्गलबार एक कार्यक्रमा बीच लोकार्पण गर्नुभयो । उक्त अवसरमा उनले विद्यापीठको वेबसाइड प्रयोग पनि शुभारम्भ गरे ।
कार्यक्रममा शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा कृयाशिल विश्वविद्यालयका आङ्गिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिइरहेको बताए । विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै उनले यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वानहरूले युगानुकुल रुपमा व्यवहारोपयोगि बनाउँदै लैजानुपर्ने बताए ।
विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताए । उक्त अवसरमा जर्नलमा प्रकाशित लेखरचनाको प्रा.डा.यामबहादुर पौडेल क्षेत्री, सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, सहप्रा.डा.काशीनाथ कंडेल, डा.सवीन्द्रराज भण्डारी, डा.भोलानारायण रेग्मीले समिक्षा गरेका थिए ।
कार्यक्रममा सहप्रा.डा.चूडामणि कंडेलले जर्नल प्रकाशन र वेबसाइड निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पारेका थिए भने नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष सहप्रा.आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताए ।
विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राखे । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा.डा.शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए ।