पोखरा । लम्जुङको दोर्दी गाउँपालिकामा तीन रात चार दिनको नयाँ पदमार्ग खोजी कार्य हालै सम्पन्न भएको छ । भेडा र भैंसी चर्ने लेकका दशकौं पुराना बाटोहरुमा पदयात्री हिंडाएर पर्यटनको नौलो स्वाद पस्कने उद्धेश्यका साथ यो खोजी तथा अनुसन्धान अगाडि बढाइएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
दोर्दी गाउँपालिका र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो । दोर्दीको इलम पोखरीबाट लिपेलेक हुँदै दाम्राङ पुग्ने यो मार्ग केम्पिङमा आधारित हो । अन्नपूर्ण क्षेत्र लगायत नेपालका थुप्रै विश्वप्रसिद्ध पदयात्रा मार्गहरु मोटरबाटोले निलेपछि विकल्पको रुपमा नयाँ पदमार्गको खोजी सम्पन्न भएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । यो मार्गको पदयात्रालाई विस्तार गरी नौ रात १० दिन सम्मको बनाउन सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । नासिने अवस्थामा रहेका भेडीगोठ र भैंसी गोठमा पर्यटक पुर्याएर यिनै संरचना वरपर पर्यटकलाई रात बिताउने वातावरण तयार गर्ने गरी यो मार्ग विकास गर्न लागिएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्र भन्दा बाहिर पर्ने यो पदमार्गको अधिकांश भाग जंगल र लेकाली पाखाले ढाकेको छ । पहिलो रात दुई हजार एक सय ७० मिटर उचाईमा अवस्थित इलम पोखरीमा विताउन सकिन्छ । चैत पूर्णिमा र ठूली एकादशीमा मेला लाग्ने यो ठाउँमा ठूलो पोखरी रहेको छ । गजुर राख्ने ठाउँमा निगालोघारी निस्किएको इलमदेवीको अनौठो मन्दिर पनि यहीं छ । त्यसपछि दोश्रो रात दुई हजार नौ सय ५० मिटर उचाईमा रहेको धौथलीमा विताउन सकिन्छ । बाक्लो लालीगुराँसको जंगल यहाँ देख्न सकिन्छ । भोलिपल्ट विहान आधा घण्टा माथिको लिपेहिल अवलोकन गर्न सकिन्छ । तीन हजार एक सय मिटर उचाईमा रहेको यो नांगो डाँडो नै पदमार्गको सबैभन्दा माथिल्लो विन्दु हो ।
लिपेहिलबाट हिमालचुली, मनाश्लु, बौद्ध हिमाल, अन्नपूर्ण, डा. हर्क पिक लगायतका हिमाली चुचुरा देख्न सकिन्छ । नजिकै रहेको ढुंगेसाँघु पनि पर्यटकलाई आकर्षक लाग्न सक्छ । तेश्रो दिन भने ओरालो यात्रा गरी गोरु जुरे डाँडालाई अवलोकन गर्दै दाम्राङ रात विताउन पुग्न सकिन्छ । यहाँ आकर्षक दाम्राङ पोखरी र गुफा रहेका छन् । खुलाल गढी, पाण्डे गढी र घले गढी गरी तीन वटा ऐतिहासिक गढीहरु पनि नजिकै रहेका छन् । चौंथो दिन भने थप ओरालो पदयात्रासँगै नौथर शेरा पुगी यात्रा टुंग्याउन सकिन्छ । दाम्राङबाट शेरासम्म १७ किलोमिटर मोटरयात्रा गर्न पनि सकिन्छ । पुरानो गोठ संस्कृति, विशाल लालीगुराँसको जंगल, पोखरी र मठमन्दिर यो पदमार्गको विशेषता हुन् । जैविक विविधता, पानी र पूर्वाधारको हिसावले यो मार्ग केम्पिङमा आधारित पदयात्राका लागि उपयुक्त रहेको नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले बताए । टानले विगतमा पनि नयाँ पदमार्गहरुको अध्ययन, अनुसन्धान र खोजी गर्दै आएको र यो मार्गलाई पनि थप विस्तार गरेर अगाडि बढ्न सकिने संभावना रहेको कार्यक्रमका सहसंयोजक एवं टान गण्डकीका कार्यसमिति सदस्य दिपकप्रसाद सापकोटाले बताए ।
नेटाँचेबाट उखण्ड, मेमे पोखरी, १२ पोखरी, चित्रे डाँडा हुँदै लम्जुङकै वेसीशहरसम्म पदमार्ग विस्तार गरी यसलाई १० दिनको बनाउन सकिने दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले सुनाए । नेटाँचेबाट दूधपोखरी, चुमभ्याली, लार्के पास हुँदै मनाङ निस्कने अर्को मार्ग पनि विकास गर्ने भविश्यको योजना उनले सुनाए । पृथ्वी राजमार्गको डुम्रे बजार वा पोखराको वेगनासतालबाट बस यात्रा सुरु गरी लम्जुङको सुन्दरबजार र राइनास नगरपालिका स्थित मस्र्याङ्दी माथिको पाउँदी पुल तरेर राइनासकोटको होमस्टेमा पहिलो रात बिताउन पनि सकिन्छ । यसो गर्दा यात्रा थप एक दिन लम्बिन्छ । राइनासकोटबाट पैदल वा बसयात्रा गरी गौंडा हुँदै जोर्नी पुगेर पदयात्रा सुरु गर्न सकिन्छ । जोर्नीबाट इलम पोखरीसम्म जीपहरु जान सक्छन् ।
नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको कार्यक्रमको अन्तिम क्याम्प दाम्राङमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले लम्जुङका नेता जमिन्द्रमान घलेको पनि सहभागिता रहेको थियो । लम्जुङ जिल्लाले ठूलो पर्यटकीय संभावना बोकेको बताउँदै आगामी दिनमा नामुन पास लगायत मेमे पोखरी क्षेत्रमा पनि पदयात्रा मार्गको विकास र विस्तार गर्ने योजना रहेको युवा पर्यटन व्यवसायी एवं लम्जुङका वासिन्द बोबरजंग गुरुङले बताए । कार्यक्रमको अन्तिम दिन सोमबार दोर्दी गाउँपालिकाले पालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी पदयात्राका सहभागीलाई धन्यवाद ज्ञापन गरेको थियो । पदमार्ग खोजी तथा अनुसन्धान कार्यक्रममा संचारकर्मी, पर्यटन व्यवसायी, टानका पदाधिकारी, गाउँपालिकाका पदाधिकारी, पदयात्रा सहयोगी गरी २९ जनाको सहभागिता रहेको थियो ।
Pictures: Happypokhara.com