पोखरा, १९ जेठ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवस अवसरमा आयोजित तेश्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको बुधबारदेखि आरम्भ भएको छ ।
पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । घान्द्रुकमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कार संस्कृति अवलोकनका लागि पर्यटकहरु आउने भएकोले यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए । घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पु¥याउँदै आएका रामबहादुर परियारलाई सम्मान गरिएको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्र्दै आएको छ ।
यसअघि कोरोनाका कारण महोत्सव रोकिएको थियो । ३ दिनसम्म चल्ने महोत्सवको अन्तिम दिन २० जेठमा म्याराथन प्रतियोगिता हुनेछ । पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार पुरस्कार पाउने छन् । महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
म्याराथन अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भइ माछापुच्छरे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । यसैबीच, महोत्सवअन्तर्गत खुला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । १३ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिइने छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको खबर आदर्श समाज दैनिकमा लेखिएको छ ।