पोखराको मदरल्याण्ड माविका १० विद्यार्थीले आज सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा चार जीपीए ल्याउन सफल भएका छन् ।
चार जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्वीटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समिक्षा पहारी र युनिका ढकाल रहेका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।
विद्यालयका अनुसार एक सय ४६ जना विद्यार्थीले परीक्षा दिएकोमा एक सय २८ जनाले (३.६० देखि ४.००) जि. पि. ए. र १८ जनाले (३.२० देखि ३.६० ) जि. पि. ए. सहित उत्तीर्ण हुन सफल भएको जनाइएको छ । गत एसईईमा भने विद्यालय पोखरा महानगर भित्र उत्कृष्ट बनी पुरस्कृत हुन सफल भएको थियो ।
गत बर्षको एसईई परीक्षामा भने उक्त विद्यालयका दुई जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका थिए । २०७५ सालको एसइईमा यहाँबाट ७ जनासम्म विद्यार्थीकाे ४ जिपिए आएको थियो । त्यसयता सबैभन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराल बताउँछन् ।
मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाखसहित पुरस्कृत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।
विद्यालयले एसईईमा उत्कृष्ट अंक ल्याउन सफल सबै विद्यार्थी, भाइ बहिनीहरू, शिक्षक शिक्षिका साथीहरू अनि समस्त अभिभावकज्यूहरूमा हार्दिक आभार व्यक्त गरेको छ । आज प्रकाशित नतिजाबाट अझ बढी प्रेरित भएर वा थप शिक्षा लिएर हरेक विद्यार्थी भाइ बहिनीहरूले अगाडिको यात्रालाई थप मजवुत, व्यवहारिक र उदाहरणीय बनाउँदै जीवनका हरेक परीक्षाहरू सहजताका साथ उत्तीर्ण गर्न सक्ने सार्मथ्य बनाउन सकुन्, भनी विद्यालयले शुभकामना समेत दिएको छ ।