पोखरा । जुम्लाका धीरबहादुर बुढा र गणना भण्डारीले अन्नपूर्ण म्याराथनको उपाधि हात पारेका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा भएको तेस्रो संस्करणको म्याराथनमा पुरुषतर्फ धीरबहादुर र महिलातर्फ गणना विजेता घोषित भएका हुन् ।
७३ औं अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा कास्कीको अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुक सम्म आयोजित म्याराथनमा जुम्लाका धावक धीरबहादुरले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गरे । नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । आर्मीकै वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको रेकर्डसहित तेस्रो स्थान प्राप्त गरे । महिलातर्फको म्याराथन जुम्लाकी गणना भण्डारीले उपाधि जितिन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारिन् । धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा र ओखलढुंगाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गरी क्रमशः दोस्रो र तेस्रो भए । पुरुषतर्फ पहिलोले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो र तेस्रोले क्रमशः १ लाख र ७५ हजार प्राप्त गरे ।
महिलातर्फ प्रथमले उपाधिसहित ७५ हजार, दोस्रोले ५० र तेस्राले २५ हजार रुपैयाँ पुरस्कार पाए । म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिएको हो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लेकेनलले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने गरिएको छ । दिवस अवसरमा आयोजित अन्नपूर्ण सेन्चुरी महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
गाउँस्तरीय पुरुष भलिबलको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ । शनिबार फाइनलमा ठकुरी समाज तनहुँले घान्कु क्ल्यूलाई ३–२ सेटमा पराजित गरी उपाधि पाएको हो । उपाधि विजेता ठकुरी समाजले ८० हजार र उपविजेता घान्कु क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरे । पुरुष भलिबलमा १३ टिमले भाग लिएका हुन् । बास्केटबलको उपाधि मर्दीखोलाले जितेको छ ।
फाइनलमा मर्दीखोलाले छोम्रोङ ब्रदर्शलाई पराजित गर्दै मर्दीखोलाले उपाधिसहित ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग-यो । छोम्रोङले ५० हजार पायो । ठेलो प्रतियोगितामा सञ्जुविक्रम शाह प्रथम हुँदै ५ हजार र द्वितीय नगेन्द्र गुरुङले ३ हजार रुपैयाँ प्राप्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कार्यक्रमका प्रमुख अतिथि थिए । अन्नपूर्ण सेञ्चुरी पर्यटन समिति र पर्यटन व्यवस्थापन समिति घान्द्रुकले कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमको संचालन अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका महासचिव दिलिप गुरुङले गरेका थिए ।