पोखरा, १ वैशाख ।
पोखराको नयाँ बजारमा विहीबार बीएमडब्लू मोटरवाइकको सोरुम उद्घाटन गरिएको छ । पञ्चासे मोटरराड नाम दिएर खोलिएको सोरुमको नाडा अटोमोवाल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले बीएमडब्लू वाइकले विस्तारै पोखरामा लोकप्रियता हाँसिल गर्दै जाने विश्वास व्यक्त गरे ।
सोरुममका संचालक एवं प्रबन्ध निर्देशक प्रेम गुरुङले अहिले सुरुमा बीएमडब्लू वाइकका दुई वटा मोडलको विक्रीवितरण सुरु गरिएको जानकारी दिए । १३ लाख ५० हजारदेखि १३ लाख ७५ हजार रुपैयाँ विचमा पर्ने जी३१०आर र १४ लाख ५० हजारदेखि १४७५ हजार विचमा पर्ने जी३१०जीएस मोडल यहाँको सो रुममा उपलब्ध हुने उनले बताए । तीन सय १३ सीसीदेखि १२५० सीसी क्षमताका वाइक यहाँ उपलब्ध छन् ।
प्रिमियम वाइकको रुपमा रहेको वीएमडब्लूले पोखरा क्षेत्रमा क्रमशः आकर्षण बटुल्दै जाने उनले विश्वास व्यक्त गरे । अहिले भारतको टीभीएस कम्पनीले बीएमडब्लू मोटरराड उत्पादन गर्दै आएको छ । भारतमा स्थापित प्लान्टमा उत्पादन हुने ५०० सीसी क्षमतासम्मका वाइक विभिन्न ९० देशमा सप्लाई हुने गरेको जानकारी गुरुङले दिए । बीएमडब्लू खासमा जर्मनीको ब्राण्ड हो । अर्डर आएमा जर्मनीबाट समेत वाइक मगाउन सकिने उनले सुनाए ।
नेपालमा हिमालयन मोटरराडले बीएमडब्लूको विक्रीवितरणको जिम्मा पाएको छ । त्यस संस्थाका जनरल म्यानेजर दीपेश श्रेष्ठले बीएमडब्लू वाइक नेपालको भूगोल सुहाउँदो भएको भन्दै नेपालमा यसको बजार विस्तार हुने क्रम सकारात्मक भएको भनाई राखे । उनले पोखरामा स्थापित सोरुमको सफलताको कामना पनि व्यक्त गरे ।