पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सिता पौडेलले संविधानको धारा १६८– ५ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि मुख्यमन्त्रीको रुपमा रहेका पृथ्वीसुब्बा गुरुङले धारा १६८–४ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि बहुमत सहित आउन प्रदेश सभा सदस्यहरुलाई पौडेलले आवहान गरेकी थिइन् । सोही अनुसार पोखरेलले ३१ सभासदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । पोखरेलले आजै सपथग्रहण गर्नेछन् ।
को हुन् कृष्णचन्द्र : बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागको पर्याय हुन् ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट होमिए । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो ।