पोखरा, ८ साउन ।
गण्डकी प्रदेशका नवनियुक्त ६ मन्त्रीले शुक्रबार शपथग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ ग्रहण गरेका हुन् ।
नयाँ मन्त्रीमा माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । त्यस्तै माओवादीकै दीपक चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोही दलका चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भए ।
कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री, कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रीमा नियुक्त भएका छन् । यसैगरी स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्री बनेका छन् । अब गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ ।
मुख्यमन्त्री पोखरेलले जेठ २९ मा मुख्यमन्त्रीको सपथ लिएका लिंगै गर्दा अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । नेपाली कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ सो दिन मन्त्री नियुक्त भएका थिए ।