दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले बताए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले उक्त शिविरभन्दा अघि संस्थाले एक सय ७२ वटा शिविर सम्पन्न गरिसकेको जानकारी दिए । स्वास्थ्यलाई धनको रुपमा लिनुपर्ने भन्दै उनले पछि गएर समस्यामा पर्नुभन्दा समयमै स्वास्थ्य जाँच गर्नु वुद्धिमानी हुने बताए । आगामी दिनमा समेत दूरदराजमा पुगी युआरएलले यसप्रकारका शिविर संचालन गर्ने अध्यक्ष पन्तले जानकारी दिए । डाक्टरहरु कृष्णराज अधिकारी, सरोजचन्द्र दाहाल, विराट शर्मा, राज गुरुङ, अञ्जु थापा र रामु सापकोटाले शिविरमा सहभागीको स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो । नेपाल रेडक्रस सोसाइटी म्याग्दीका अध्यक्ष अमर बानिया, कोषाध्यक्ष नवराज पौडेल, बेनी– ४ का वडाअध्यक्ष अणबहादुर खड्का र रेडक्रस सिंगा उपशाखाका सभापति सुमन बानियाले उद्घाटन शत्रमा आफ्ना भनाई राखेका थिए ।
समापन शत्रमा आफ्नो भनाई राख्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य शिविर आयोजना गरेर दर्शन फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । शिविरका कारण आफ्नो घरआँगनमै धेरै विरामीले उपचार सेवा लिन पाएको उनले सुनाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ पेट, छाति एवं मुटुरोग विशेषज्ञ डा.कृष्णराज अधिकारीले यसप्रकारको स्वास्थ्य शिविरको ठूलो प्रभाव नभए पनि विरामीको रोग पत्ता लगाउन र निदानको बाटो खोज्न सहज हुने भनाई राखे । पटक पटक यस्ता शिविर आयोजना गर्न सके धेरै विरामीले लाभ लिन सक्ने उनले बताए ।