पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् ।
जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।
पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुबेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरविच स्तरीय बस सेवा जरुरी भएको भनाई राखे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य एबं आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको भनाई राखे । पूर्वाधारको विकास र पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुलीले बताए । लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रबर्द्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने भनाई राखिन् ।
नेपालमा पाँच सय दरका भरतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भरतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दु:ख दिन नहुने र दुई शहरविच पर्यटनका संयुक्त प्रबर्द्धनात्मक कार्यक्रम संचालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगन्जका ब्यबसायीले राखेका थिए ।
होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यबसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्धोग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरन्जिवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले कार्यक्रममा भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक होटल संघकी सचिव पार्वती पाण्डेले गरेकी थिईन् ।
पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि हिंडेको संघको टोली असार दुई गते पोखरा फर्कने छ । यस अघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम संचालन गर्ने छ ।