पोखरा । ग्लोवल अवारनेस फाउन्डेसन कास्की नेपालले संस्थाको प्रथम साधारणसभा एवं ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ ।
लैंगिक समनाताका लागि बलियो आधार सूचना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गरेकी हुन् ।
सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पुर्याउन आवश्यक रहेको बताइन् । उनले नारिमुक्ति आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै सुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राखिन् ।
कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको भन्दै आफ्नो भूमिकाको खोजिसहित महिला अघि बढ्नुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताइन् । उनले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतनादेखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुर्याएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको उल्लेख गरिन् ।
कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्तोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा धारणा राखे ।