पोखरा, ९ साउन । ह्याप्पी पोखरा डट कम
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले लिने यस्तो परीक्षा पोखरामा पहिलोपटक आयोजना गरिएको जनाइएको छ । पोखराको मदरल्याण्ड माविमा यस्तो परीक्षा सुरु भएको हो । पहिलो दिन एमवीवीएसको परीक्षा सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ । विद्यालयमा दुई वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
विद्यालयको दश जोड दुई कार्यक्रम तर्फका इन्चार्ज एवं केन्द्र ख का केन्द्राध्यक्ष नारायण प्रसाद आचार्यका अनुसार फराकिलो क्षेत्रफल, आबश्यक पूर्वाधार र शैक्षिक उत्कृष्टताका हिसावले पनि यस्तो परीक्षाका लागि मदरल्याण्ड छनौट भएको हो । यहाँका दुई केन्द्रका लागि चार सय ५७ विद्यार्थी प्रवेश परीक्षाका लागि छनौट भएकोमा चार सय ४९ जनाले सहभागिता जनाएका थिए । केन्द्र क को केन्द्राध्यक्ष विद्यालयका प्राचार्य नारायण बराल रहेका थिए । राष्ट्रिय तथा प्रदेश स्तरमा समेत उत्कृष्ट विद्यालयको पुरस्कार पाइसकेको मदरल्याण्डमा दुई हजार पाँच सय विद्यार्थी र दुई सय १५ शिक्षक तथा कर्मचारी रहेका छन् । विद्यालय २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यसैविच चिकित्सा शिक्षा आयोग परीक्षा केन्द्र निर्देशनालयले सूचना जारी गर्दै कोरोना संक्रमण जोखिमका कारण चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत केन्द्र तोकी परीक्षा सञ्चालन हुने भन्दै परीक्षार्थीलाई आफ्नो पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्न आह्वान गरेको थियो ।
आयोगका अनुसार यो वर्ष विभिन्न विषयमा अध्ययनका लागि ३२ हजार आठ सय जनाले प्रवेश परीक्षाको लागि आवेदन दिएका थिए । सिट संख्या करिब ८ हजार छ । यो वर्ष विभिन्न विषयमा ७ हजार ७०० कोटा छन् । एमबीबीएसका लागि ११ हजार तीन सय जनाले प्रवेश परीक्षाको फाराम भरेको जनाइएको छ ।
पहिलोपटक स्नातक तहमा आयोगले एकीकृत प्रवेश परीक्षा लिएको हो । यसअघि शिक्षण संस्थापिच्छे प्रवेश परीक्षा हुने व्यवस्था थियो । साउन ९ मा एमबीबीएस, १० मा बीडीएस, ११ गते नर्सिङलगायतका विषय, १२ गते बीएएमएसलगायत र १३ गते बीपीएचको प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।
गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षामा भाग लिन पाउने प्रावधान छ । परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ । परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएको छ ।
सूचना अनुसार प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने नियम लागु गरिएको थियो । परीक्षार्थीले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट पनि परीक्षा केन्द्रमा लिएर पुग्नुपर्ने प्रावधान रहेको छ । पोजेटिभ रिपोर्ट देखिए पनि भौतिक दुरी कायम गरेर परीक्षा दिन पाइनेछ । विदेशी विद्यार्थीका हकमा सात दिन क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।
स्नातकोत्तर तहको परीक्षा भने यसअघि नै सकियो । जेठ २० गते सबै प्रक्रिया सकेर भर्ना गरिसकिएको छ । स्नातकको लागि गत वर्षदेखि नै योजना गरिएको भए पनि कोभिडका कारण यो वर्षदेखि मात्र प्रवेश परीक्षा लिन लागिएको हो । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार स्नातकको विभिन्न १२ विषयलाई ५ वटा समूहमा विभाजन गरेर परीक्षा हुने छ । एउटा समूहमा परीक्षा दिएपछि त्यो समूहमा पर्ने सबै विषयमा छनोट हुन्छ । एकीकृत प्रवेश परीक्षा नेपालमा पहिलो पटक हो ।
गिरीका अनुसार चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न, मेरिटका आधारमा विद्यार्थी भर्ना गर्न र देशभरका राम्रा विद्यार्थी छान्नका लागि एकीकृत परीक्षा लिइएको हो । गुणस्तर कायम गर्नु अर्को पाटो भएको आयोगको भनाई छ । चिकित्सा शिक्षा आयोग गठन भएर आफ्नो कार्यक्रम लागु गरेपछि सरकारी कलेजमा जति सिट छन् ती सिटको ५५ प्रतिशत सिट छात्रवृत्तिका हुन् । ७५ लाई १०० मानेर अन्य सिट आरक्षणमा बाँडफाँट हुन्छ जान्छ । प्रति क्लस्टरमा मेरिटका आधारमा जान्छ । ४५ प्रतिशत आरक्षणमा जान्छन् । गत सालको एमबीबीएस र स्नातकमा यो कार्यक्रम लागु गरिएको छ । गत वर्ष स्नातक तह सिस्टममा नआएसकेको हुँदा ५०० लाई छात्रवृत्ति प्रदान गरिएको थियो । गत वर्ष ३५ करोड रुपियाँको छात्रवृत्ति आयोग मार्फत् नेपाल सरकारले शिक्षण संस्थालाई प्रदान गरिसकेको छ ।