पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखरा ७ को मदरल्याण्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याउन सफल भएका छन् ।
विद्यालयबाट परीक्षामा सम्मिलित १ सय ५१ परीक्षार्थीमध्ये २ जनाले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ । परीक्षामा जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएको विद्यालय प्राचार्य नारायण बरालले जानकारी दिए । मदरल्याण्डमा सानैदेखि पढ्दै आएका उनीहरु पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन पोखरा ३ नदीपुरका हुन् भने सुदेश पोखरा १७ बिरौटाका बासिन्दा हुन् ।
३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ४६ जना, २.८ देखि ३.२ जिपिए ३१ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने २ जना विद्यार्थी रहेको बरालले बताए । २०७५ सालको एसइईमा पनि मदरल्याण्डकै ७ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए ।
यस वर्ष कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयले उल्लेख गरेको छ ।
विद्यार्थीलाई ६० करोडको छात्रवृत्ति
उक्त विद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये १४ जनाले विश्वमा ख्यातिप्राप्त विश्वविद्यालय तथा कलेजबाट यो वर्ष उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् । कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन् ।
बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी एजी, फरेस्ट्री, बिफर्मा, भेटेरिनरी लगायत संकायमा पनि हरेक वर्ष पूणर् छात्रवृत्तिमा नाम निकालेर उच्च शिक्षा अध्ययन गर्नेहरु आफ्ना उत्पादन रहेको मदरल्यान्डले जनाएको छ । एसइईमा एकै वर्ष ७ जनाले जिपिए ४ ल्याएर राष्ट्रियस्तरमै सर्वोत्कृृष्ट विद्यालयका रूपमा पुरस्कार जितेको मदरल्यान्डबाट १२ सकेका विद्यार्थीले इन्जिनियरिङतर्फ पनि विभिन्न विषयमा हरेक वर्ष बिसौंको संख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दस जोड दुई इन्चार्ज नारायण आचार्यले बताए ।
प्राचार्य नारायण बराल विद्यालयको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण विद्यार्थीले मदरल्यान्डलाई नै रोज्ने गरेको बताउँछन् । एमबिबिएसमा हरेक वर्ष पूणर् छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी पनि अनेक रहेको जानकारी उनले दिए । बरालका अनुसार मदरल्यान्डमै पढेका सविन आचार्यले प्रवेश परीक्षामा दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका थिए ।
एमबिबिएसमै एकै वर्ष एकै परिवारका दाजुबहिनी जनक र सम्झना दाहालले पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए । सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेर नेपालकै गरिमा बढाएकोमा विद्यालयले ५० हजारसहित पुरस्कृत गरेको थियो ।
मदरल्यान्डले विद्यार्थीलाई व्यावहारिक सिप विकास तथा समाजिक कार्यमा पनि सहभागी गराएको पाइन्छ । काइन्डनेस क्लब, स्काउट, बर्थडे बैंक र रेडक्रसजस्ता बाल संगठनका माध्यमबाट सामाजिक कार्यमा विद्यार्थी सक्रिय हुने गरेको नेपाल स्काउट क्लब मदरल्यान्डका शिक्षक सहजकर्ता विनीत छन्त्याल बताउँछन् ।