पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपछि पोखरेली र समग्र गण्डकीवासिको ४७ वर्षदेखिको सपना पूरा भएको छ । विमानस्थल उद्घाटनका अवसरमा अमरसिंहचोकबाट र्यालीमा सहभागी भई हजारौं पोखरेली छिनेडाँडास्थित कार्यक्रमस्थलमा पुगेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासका लागि भौतिक संरचना र कनेक्टिभिटी ठूलो कुरा भएको बताउँदै अव सरकारले निजगढमा समेत अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउने बताए । सरकारले विकास, सुशासन र सामाजिक न्यायलाई ध्यान दिंदै काम गर्दै जाने प्रतिवद्धता पनि उनले सुनाए । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही र भरपुर प्रयोग अवको चुनौति भएको बताउँदै सबै मिलेर त्यस्तो चुनौतिबाट पार पाउने विश्वास व्यक्त गरे ।
विमानस्थल उद्घाटनका अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने पंचैवाजा पनि बजाइएको थियो । कार्यक्रमका अवसरमा विमानस्थलका परिकल्पनाकार पूर्व अञ्चलाधीश शंकरराज पाठकलाई सम्मान गरिएको थियो । चीनको एक्जिम बैंकको आर्थिक सहयोग २२ अर्व रुपैयाँ हाराहारीको बजेटमा चिनकै सीएएमसी इञ्जिनियरिङ कम्पनीले यो विमानस्थल निर्माण गरेको हो ।
सो अवसरमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक इञ्जिनियर प्रदिप अधिकारीले विमानस्थलको धावन मार्ग दुई हजार पाँच सय मिटर लामो र ४५ मिटर चौडा भएको जानकारी दिए । एरोव्रिजको सुविधा समेत भएको विमानस्थलमा कूल १४ विभिन्न भवन रहेको जानकारी पनि उनले गराए । विमानस्थलबाट आन्तरिक तर्फको हवाई सेवा आरम्भ समेत भएको छ । अन्तर्राष्ट्रिय उडान छिटै सुरु हुने बताइएको छ ।
मुख्य सचिव शंकरदास बैरागीको सभापतित्वमा भएको कार्यक्रममा सीएमसीईका उपाध्यक्ष लिउ सेङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, चिनिया दुतावासका तर्फबाट वाङ जिन, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, इकावोका एसिया प्यासिफिक निर्देशक ताओ मा र पर्यटन सचिव सुरेश अधिकारीले भनाई राखेका थिए ।