ह्याप्पी पोखरा डट कम
नयाँ र फरक पनामा मानिसको चासो बढी हुन्छ । यही मानवीय स्वभावले पर्यटन जन्मियो सायद । पछिल्ला दशकमा संसारभरिका मानिसमा घुम्ने बानीको विकास अचम्म गरी भयो । नेपालमा भने त्यस्तो क्रमले पछिल्लो डेढ दशक यता मात्र व्यापकता पायो । आन्तरिक होस् वा बाह्य– पर्यटन आफ्नै गतिमा अगाडि बढ्दै गर्दा अहिले भने यसको रफ्तारले अप्रिय रोकावट झेल्नुप¥यो । सरकार–माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी र २०७२ सालको भुकम्पमा पनि पर्यटन यति टीठलाग्दो गरी प्रताडित हुनु परेको थिएन ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोभिड १९ भनिने कोरोना भाइरस पहिलोपटक देखा परेको बताइयो । अहिले भने कोभिडको मुस्लो संसार निल्छु झैं गरी दन्किएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको यही कोरोना भाइरसका कारण अहिले पर्यटन क्षेत्र तातो वगरमा पछारिएको माछा जस्तो बन्न पुगेको छ । साँच्चै भन्ने हो भने यो भाइरसबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै भएको मान्न सकिन्छ ।
संसार भरि घुम्ने क्रम र आवगमन अहिले ठप्प जस्तो हुन पुगेको छ । नगन्य मात्रामा अन्तर्राष्ट्रिय हवाई उडानहरु भएका छन् । नेपालमा त सार्वजनिक यातायात संचालन हुन पनि समय लाग्ने देखियो । पर्यटनमा भएको खर्वौ रुपैयाँको लगानी डुब्ने अवस्थामा पुगेको छ । होटल, रेष्टुरा, ट्राभल एजेन्सी र अन्य पर्यटकीय सेवा सुविधा ठप्प नै छन् । दर्जनौं पर्यटकीय प्रतिष्ठान बन्द हुन पुगेका छन् । व्यवसायी ऋणमा डुबेका छन् । बैंकको ताकेता बढेको छ । एक हिसावले हायलकायलको अवस्था छ । व्यवसाय टिकाउन राहातका लागि सरकारसँग गुहार मागिएको छ ।
संकटग्रस्त सिंगो पर्यटन क्षेत्रको पुनःउत्थानका लागि राहतका कार्यक्रम ल्याउन तथा पर्यटन क्षेत्र टिकाउन अल्पकालिन र तत्कालका लागि त्यस्तो राहतको जरुरी भएको व्यवसायीले माग गरेका थिए । आर्थिक राहत, विद्युत र खानेपानीमा सुविधा, होटलहरुको दर्ता र स्तरीकरण, स्वास्थ्य सुरक्षा, मानव संशाधन, घरजग्गा बहाल, पर्यटन प्रबद्र्धन, विभिन्न पर्यटन क्षेत्रको प्रवेश शुल्क, पूर्वाधार विकार र पर्यटनका लागि कृषि क्षेत्रको योगदानका विषयलाई समेटेर केही समय अघि पर्यटन क्षेत्रका तर्फबाट गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण पनि गराइएको थियो । यसैगरी पुनर्कर्जा प्राप्तीको व्यवस्थालाई सरलिकृत गर्न र आगामी नीतिमा व्यवसायीका माग संवोधन गर्न पनि व्यवसायीले माग गरेका छन् ।
यस्तो अवस्था विच अहं प्रश्न के छ भने– के भाइरसको झापडले रन्थनिएको पर्यटन क्षेत्र अब उठ्न सक्ला? उठे पनि कसरी उठ्ला र कोरोना पछिको पर्यटन कसरी अगाडि बढ्ला? भाइरस कुल्चेर के मानिसहरुले घुम्ने हिम्मत बटुल्न सक्लान् । यस्तै जिज्ञासा र प्रश्न विच अव व्यवसायीहरु भन्न थालेका छन्– सधैं यसरी चल्दैन, अव व्यवसाय खोलौं । सबै क्षेत्र क्रमशः खुल्दै गर्दा पर्यटन व्यवसाय पनि अगाडि बढाउनुपर्ने मान्यतामा अधिकांश व्यवसायी एक मत छन् । तर चुनौति त के छ भने के व्यवसाय खुले पनि मानिसहरु पर्यटकीय सेवा लिन आइपुग्लान्? थोरै घुमघामले के पर्यटन टिक्न सक्ला? यस्तै अन्यौलका विच अवको पर्यटन अगाडि बढाउनुपर्ने चुनौतिमा व्यवसायी र सरकार रहेका छन् ।
भाइरसका कारण मान्छेसँग मान्छे डराउनुपर्ने अवस्था सिर्जना हुँदा एकआपसमा भौतिक दुरी ख्याल गर्नुपर्ने अवस्था आएको छ । जताततै मास्क, सेनिटाइजर, आइसोलेसन, क्वारेन्टिन, पीसीआर र आरडीटी जस्ता शब्दहरुको गुञ्जन सुनिन्छ । भेटघाटमा गाला नै जोड्ने, अंकमाल गर्ने र हात मिलाएर गरिने अभिवादन एकाएक रोकिएका छन् । हाम्रै पुरानो प्रचलन नमस्ते बढी लोकप्रिय बन्न पुगेको छ । सभा सम्मेलनमा बढी जोड दिइने माइस पर्यटनको सट्टा जुम मिटिङ र भिडियो कन्फरेन्सिङ बढी प्रचलित हुन थालेका छन् ।
मानिसहरु बाँच्न नै कठिन भएको भन्दै गुनासो गर्ने अवस्थामा पुगेका छन् । सरकारले जति सक्यो उति राहत त बाँड्यो तर त्यो पर्याप्त रहेन । कोरोनाकै कारण नेपाल भ्रमण बर्ष २०२० पनि स्थगित हुन पुग्यो । जुन निकै दुःखद अवस्था हो । २० लाख पर्यटक एकै बर्षमा भित्र्याउने लक्ष्य राखेको नेपाल अव करिव शून्यबाट पर्यटन अगाडि बढाउनुपर्ने विन्दुमा आईपुगेको छ । संसारलाई नै एक हिसावले कोरोना अघि र पछिको भनेर बाँड्न थालिएको छ । कोरोना पछिको विश्व र पर्यटन अगाडि बढाउनुपर्ने चुनौति अघि मानवजाति उभिएको छ । मानव अस्तित्व नै संकटमा पर्ने त्रास विच पर्यटन अव विस्तारै अगाडि बढ्नै त पर्छ नै । रोकिनु जीवन होइन, अव नयाँ गतिशिलता सिर्जना गर्नु जरुरी छ ।
पर्यटकीय गन्तव्य, पदमार्ग र होमस्टेको पूर्वाधार विकास तथा उद्धार र पर्यटन सूचना प्रणालीको विकास तथा व्यवसाय पुनर्जीवन कोष मार्फत् संकटलाई संवोधन गर्ने प्रतिबद्धता गण्डकी प्रदेशको नयाँ बजेटले व्यक्त गरेको छ । यसैगरी एक प्रदेश एक पर्यटकीय गन्तव्यको मान्यता अनुसार सबै प्रदेशमा पूर्वाधारको विकास, पर्यटनको पुनःउत्थान, देश दर्शन कार्यक्रम र पर्यटन विश्वविद्यालयको स्थापना जस्ता कार्यक्रमलाई संघीय बजेटले समेटेको छ । यस्ता कार्यक्रमले कोभिडले थलिएको पर्यटन उठ्न सक्ला? शंका गर्न सकिने प्रशस्त आधार छ ।
मुख्य कुरा त सामाजिक दुरीको परिपालना नै हो । सरसफाईलाई ध्यान दिने परिपाटीमा न्यूनता देखिनु हुन्न । नमुना परीक्षणका दायराहरु फराकिलो पार्न जरुरी छ । गन्तव्यमा स्वास्थ्य सुविधा राम्रो छ भन्ने ग्यारेन्टी सम्बन्धित सरकारले पर्यटकलाई दिन सक्नुपर्छ । नत्र घुम्न चाहनेहरुमा निश्चिन्तता पलाउन सक्दैन । होटल, रेष्टुुराँ, पदयात्रा, भ्रमण र हवाई उडानमा सोही अनुसारको निर्देशिकाहरु लागू गरिनुपर्छ र तिनलाई कडाईका साथ अनुसरण गरिनुपर्छ । पर्यटनको नयाँ यात्रा आन्तरिक पर्यटनबाट थालनी गर्न सकिन्छ । प्रबद्र्धन र राहातका प्याकेजका लागि सरकारले केही नयाँ घोषणा गरेर अगाडि बढ्नुपर्छ । कर्मचारीलाई घुम्ने विदा र सरकारी पैसा दिन सकिन्छ । हप्तामा एक दिनको सट्टा दुई दिन विदा दिने व्यवस्था पनि अगाडि बढाउन सकिन्छ । कोरोनाले आपसमा विथोलेको भाइचारा पुनर्जिवित गर्ने माध्यम पर्यटन बन्न सक्छ ।