ह्याप्पी पोखरा डट कम
लम्जुङको बेसिशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्कीको पोखरा ओर्लन्थ्यो । त्यो बेलाको २१ दिन लामो पदयात्रा अहिले सडक मार्ग विस्तारसँग एक हप्तामा खुम्चिन पुगेको छ । अन्नपूर्ण क्षेत्रमा लामा छोटा एक दर्जन बढी पदयात्रा मार्ग छन् । अधिकांशको प्रस्थान विन्दु पर्यटकीय पोखरा नै हो । धौलागिरी र ढोरपाटन क्षेत्रको पदयात्रा पनि पोखराबाटै अगाडि बढाइन्छ । त्यसै कारण पोखरालाई ट्रेकिङको गेट–वे वा बेस स्टेशन भनेर पनि बुझ्दै आइएको छ ।
पोखरा आउने अधिकांश पर्यटक पदयात्राका लागि आउने चलन हो । उनीहरु यात्रा तयारीका लागि यहाँ रात विताउने प्रचलन पनि उत्तिकै बढी थियो तर अहिले यस्तो क्रम घट्न पुगेको पाइन्छ । पदयात्रा गर्न चाहने पर्यटकलाई अहिले पोखरा नराखी सिधै नयाँपुल, विरेठाँटी वा घान्द्रुक पु¥याइन्छ र पदयात्रा तिनै ठाउँबाट सुरु गराइन्छ । पोखरा क्षेत्रका होटलका लागि यो पक्ष चुनौती बनेर आएको छ । र, पदयात्रा सकेर फर्कने पर्यटक एक रात भने पोखरा बिताउँछन्– यात्रा भरीको मयल होटलमा पखाल्छन् । हो, यही प्रवृत्तिले अर्वौं रुपैयाँको लगानी भएका पोखराका होटल लामो बसाईका लागि भन्दा पनि स्नान गृहमा परिणत हुने डर पैदा भएको छ ।
अंग्रेजीमा लेन्थ अफ स्टे भनिने पर्यटकको बसाई घटेर अहिले डेढ दिनमा झर्न पुगेको व्यवसायीहरु बताउँछन् । पर्यटकको बसाई अवधि लम्बिन सके होटल क्षेत्रलाई मात्र नभई सबै खालका पर्यटन व्यवसायीलाई लाभ पुग्न सक्ने निश्चित कुरा हो । उनीहरुको बसाई अवधि लम्ब्याउन सकिए उनीहरुले गर्ने खर्च स्वतः बढ्ने न थियो यसबाट पर्यटन क्षेत्र मात्र नभई समग्र व्यावसायिक क्षेत्र लाभान्वित हुन सक्थ्यो ।
रातदिन पर्यटकको सेवामा खटिनुपर्ने होटल पेशा आफैंमा चुनौतिपूर्ण छँदै छ । विगतको द्वन्द्व, बन्द र विनासकारी भूकम्प, भारतको नाकाबन्दी र नोटबन्दी, अन्नपूर्ण क्षेत्रमा आएको हिमआँधी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको जहाज ग्राउण्डेड हुँदा उत्पन्न समस्या देखि हालैको युएस बंगला एयरलान्सको जहाज दुर्घटनाको मार नेपालको पर्यटक आगमनमा पर्दा होटल क्षेत्र पीडित हुनु परेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन् ।
एउटा निश्चित व्याजदर कायम गरेर होटल बनाउन लिएको कर्जामा बैंकले मनोमानी रुपमा ब्याज बढाउँदा समेत होटल क्षेत्र निरीह बन्नु परेको अर्को गुनासो छ । बैंकको यस्तो चरित्रलाई ज्याजदी भन्दै युवा होटल व्यवसायी राजेन्द्र ढकाल नेपाल राष्ट्र बैंक त्यस्तो पक्षलाई टुलुटुलु हेरेर बस्न नमिल्ने भन्छन् । ठूला होटलको आगमनसँगै साना होटलले खेप्नु परेको मार र विना दर्ताका दर्जनौं होटलका कारण समेत इमान्दार व्यवसायी समस्यामा पर्दै आएका छन् । हवाई तथा स्थलमार्गको उचित पहुँच जसलाई अचेल कनेक्टिभिटी भनेर चर्चा गर्ने गरिएको छ– नहुँदा पनि पोखरासम्म पर्यटक ल्याउन तथा आउन गाह्रो परिरहेको स्वयं व्यवसायीले पनि महसुस गर्ने गरेका छन् । पूृर्वाधारको अभाव अर्को समस्या र चुनौतिको पाटो भएको सबैले स्वीकारेको विषय भयो ।
विदेशी होटल जस्तो गरी पोखराको होटल क्षेत्रले कोठाको उचित मूल्य लिन नसक्नु पनि अर्को दुःखद पक्ष हो । यसै सन्दर्भमा सन् २०१६ मा विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले र त्यसअघि प्राइस अफ ट्राभल डटकमले पोखरालाई संसारकै सस्तो गन्तव्य भन्दै व्याख्या गरेका थिए ।
यावत् समस्या र चुनौति होटल तथा पर्यटन क्षेत्रले भोग्दै आउनु परे पनि आफूहरु भविश्यप्रति आसावादी भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष केदार शर्माले बताए । शोचे जस्तो पर्यटक आगमन पोखरामा हुन नसकेको भन्दै उनले पोखराको भविश्य भने आफूले उज्यालो देखेको सुनाए
यी सबै चुनौतिका वापजूद होटलकर्मी भने पोखराको प्रवद्र्धनमा रोकिएका भने छैनन् । सडकमा हिडडुल गर्न समेत गाह्रो हुने सरकार–माओवादी द्वन्दको अवस्थामा दुई दशक अघि जाउँ है पोखरा अभियान सुरु गरिएको होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेल सम्झन्छन् । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विश्वशंकर पालिखे यो अभियानलाई आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा कोशेढुंगा भनी व्याख्या गर्छन् ।
बास बस्न साँझ होटल पुग्ने नेपालीलाई कुनै बेला कोठा छैन भनेर फर्काउने पोखराका होटलकर्मीलाई त्यही बेलाको द्वन्द्वले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने पाठ पढायो । यति मात्र नभई आफ्नो खल्तीको पैसा हालेर होटलकर्मीले भारतका विभिन्न ठाउँमा छ वर्ष अघि देखि चलिए पोखरा अभियान र चीन, भुटान लगायत अन्य तेश्रो मुलुकका देशमा पोखरा ः प्युर एण्ड पर्फेक्ट भन्दै विदेशीलाई पोखरा घुम्न आव्हान गर्दै आएका छन् । यस्तो बेला पोखरामा कति पर्यटक आउँछन् भन्ने तथ्यांक पर्यटन कार्यालय पोखराले राख्न छाडेको छ । नेपाल पर्यटन बोर्डले पनि त्यस्तो तथ्यांक राख्ने गरेको छैन । पोखराका विदेशी चार लाख र स्वदेशी दुई लाख गरी छ लाख पर्यटक आउने अनुमान सुनाउने गरिएको छ ।
विदेशीसँगै आन्तरिक पर्यटकमा समेत घुम्ने क्रम बढ्दै जाँर्दा पोखरा र वरपरका डाँडाहरुमा होटल क्षेत्रमा लगानी थपिने क्रम बढ्दै गएको छ । पर्यटन क्षेत्र मध्ये सबैभन्दा बढी लगानी भएको क्षेत्र होटल क्षेत्र नै भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुली बताउँछन् । तर होटल क्षेत्रमा कति लगानी भएको छ भन्ने एकिन तथ्यांक भने कसैसँग छैन । १ खर्व देखि रुपैयाँ सम्मको आँकडा सुनाउने गरिएको छ । खासमा नयाँ विमानस्थल बन्ला र पर्यटक आउलान् भन्ने विश्वास व्यवसायीमा छ ।
पोखराको पर्यटन क्षेत्रले लेकसाइड मात्र नभई पोखराको अन्य क्षेत्रले पनि उत्तिकै पर्यटकीय संभावना बोकेको छ भन्ने बुझ्न सक्नुपर्छ । पुराना तथा लगानी थपिंदै र बन्दै गरेका होटलले भूकम्प प्रतिरोधी क्षमता र आपतकालिन निकास तथा सुरक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनु पर्छ । होटल क्षेत्र ठूलो लगानी भएको भने पछि कमाई पनि सोही अनुपातमा हुने नै भयो र सोही अनुसार कर तिर्ने तत्परता पनि व्यवसायीमा पलाउनुपर्छ । सामाजिक उत्तरदायित्वको पाटो र पर्यावरण मैत्री पर्यटन मात्र होइन पर्यटनको लाभ अन्य क्षेत्रमा पनि वितरण हुन सकोस् भन्ने मनसाय बोक्नुपर्छ । र, प्रतिस्पर्धी पर्यटन युगमा अव्वल देखिन आधुनिक प्रविधि अँगाल्दै मानव संसाधनको विकास र अन्तर्राष्ट्रिस्तरको गुणस्तरीय सेवा दिन सक्नुपर्छ ।
क्वालिटी टुरिजम कि मास टुरिजम भन्ने पक्षहरुलाई समेत ख्याल गर्दै अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई तीव्रता दिनुपर्छ । अनि ट्रीप एड्भाइजर, एक्सपेडिया, बुकिङ डटकम र ओयो जस्ता पर्यटनका पछिल्ला खेलाडीहरुसँगको चुनौतिपूर्ण यात्रा पार लगाउन सक्नुपर्छ । प्रकृतिसँगै सम्पदाहरुको संरक्षण र नयाँ पर्यटकीय प्रडक्टको पहिचान गर्नुपर्ने काम त छँदै छ । यस्तो अवस्थामा पूर्वाधार निर्माण र कनेक्टिभिटी देखि पर्यटनका बाँकी सबै चुनौतिसँग जुध्दै नयाँ नीति तर्जुमा र गुरुयोजना बनाउँदै पर्यटनकर्मीसँग सहकार्य र सहयोगमा भने सरकारी पक्ष तदरुकताका साथ प्रस्तुत हुन जरुरी छ । संघीय, प्रान्तीय र स्थानीय सरकार यसका लागि सहयोगी हुन सक्नुपर्छ । पोखरा क्षेत्र आएका जापानी भिक्षु इकाई कावागुची हुँदै सन् १९५० मा अन्नपूर्ण हिमाल चढेका फ्रान्सेली मौरिस हर्जोग र ७० को दशकमा हिप्पीले पोखरामा सुरु गरेको पर्यटनलाई रेल ल्याउँछु अनि समृद्धि चखाउँछु भन्ने अहिलेको संघीय व्यवस्थाले फस्टाउने वातावरण तयार पार्न सक्नुपर्छ ।